Friday, November 1, 2013

मोबाइलमा ब्याट्री बचाउने १० उपाय.

एक पटक चार्ज गरेर हप्तौं चल्ने मोबाइल फोनको जमाना अब रहेन। ती सेटहरुबाट एउटै काम मात्र गर्न सकिन्छ— त्यो हो फोन कल। झुर फिचर भएका मोबाइलबाट स्मार्टफोनमा अपग्रेड हुँदै हुनुहुन्छ भने तपाइँलाई झट्का दिने पहिलो कुरा ब्याट्री लाइफ हुनेछ । स्मार्टफोनहरु त्यस्ता पकेट कम्प्युटर हुन् जसम थ्रिडी गेम खेल्न मिल्छ, मन परेका तस्विर लिन मिल्छ र साथीसँग भिडियो कन्फरेन्स गर्न मिल्छ । त्यो भन्दा रोमाञ्चक कुरा एक पटक पनि कसैसँग बाटो नसोधी संसार सयर गर्न सकिन्छ । स्मार्टफोन कम्पनीहरु फिचर र एप्सलाई आधुनिकीकरण गर्न अब्बल छन् । तर त्यसको दाँजोमा ब्याट्री लाइफ बढाउने कार्यमा उनीहरु सफल हुन सकेका छैनन् । लोडसेडिङको मार खेपिरहेका नेपाली स्मार्टफोन प्रयोगकर्ताका लागि त झन् ब्याट्री लाइफ ठूलो चुनौती बनेको छ । स्मार्टफोनको ब्याट्री लाइफ जोगाउन १० टिप्स :

१. ब्राइटनेस घटाउनुहोस्

स्मार्टफोनको डिस्प्ले धेरैलाई रंगीचंगी नै मनपर्छ तर यो ब्याट्रीका लागि सबैभन्दा ठूलो शत्रु हो । स्मार्टफोनका अरु कम्पोनेन्ट भन्दा अत्यधिक यसले ब्याट्री लाइफ तहस नहस पारिदिन्छ । धेरैजसो फोन सेटमा अटो ब्राइटनेस फिचर हुनेगर्छ जसले बाहिरको उज्यालोअनुसार अटो एडजस्ट गर्छ । यो मोडमा तपाइँले आफ्नो फोनलाई राख्नु भयो भने लगातार पूरा ब्राइटनेसमा फोन चलाउँदा भन्दा कम ब्याट्री खपत हुनेछ । अझ तपाइँले आफ्नो स्क्रिनको ब्राइटनेसलाई तल्लो लेभलमा सेट गर्नुभयो झन् राम्रो । यही एउटा टिप अनुसरण गर्नुभयो भने मात्रै पनि तपाइँले स्मार्टफोनको ब्याट्री लाइफमा नाटकीय सुधार अनुभव गर्नुहुनेछ ।



२. टाइम आउट छोट्याउनुहोस्

तपाइँको फोनको डिस्प्ले सेटिङ मेनुभित्र स्क्रिन टाइम आउट अथवा यस्तै किसिमको कुनै अप्सन फेला पार्नुहुनेछ । (आइफोन प्रयोगकर्ता हुनुहन्छ भने जेनेरल सेटिङभित्र गएर अटो लक हेर्नुहोस्) यो सेटिङले कुनै काम गरिसकेपछि फोन स्क्रिन कति समयसम्म उज्यालो रहिरहन्छ भन्ने कुरालाई नियन्त्रण गर्छ । धेरैजसो एन्ड्रोइड फोनहरुमा १५ सकेन्डमै टाइम आउट हुने अप्सन हुन्छ । तर आइफोनमा भने यसलाई १ मिनेटभन्दा कममा सेट गर्न मिल्दैन । ब्याट्री लाइफाका लागि प्रत्येक सेकेन्ड महत्वपूर्ण हुने भएकाले दिइएका मध्ये टाइम आउटलाई सबैभन्दा छोटो समयमा सेट गर्नुहोस् ।

३. ब्लुटुथ र वाइफाइ अफ गर्नुहोस्

ब्लुटुथ र वाइफाइ ब्याट्री लाइफका अर्का दुई शत्रु हुन् । त्यसैले प्रयोगमा नआएको अवस्थामा यी दुई अप्सन अफ गर्नुहोस् । वाइफाइ नभएको स्थानमा वाइफाइ अन गर्नुको कुनै औचित्य नहुने हुँदा थ्रिजी वा जिपीआरएस प्रयोग गर्नु उचित हुन्छ ।

४. जिपीएसमा सावधानी अपनाउनुहोस्

जिपीएस ब्याट्री खपत गर्ने अर्को फिचर हो । यो एक प्रकारको रेडियो हो । यसले स्याटेलाइटको विश्वव्यापी नेटवर्कबाट सिग्नल टिपेर पृथ्वीमा तपाइँको फोनको लोकेसन पत्ता लाउने काम गर्छ । धेरै एपहरुले लोकेसनका लागि फोनको जिपीएस एक्सेस गर्छन् । जिपीएस एक्सेस सबै एपलाई नदिनुहोस् । आफ्नो आवश्यकता हेरेर मात्र एपहरुलाई एक्सेस दिँदा ब्याट्री लाइफ जोगिन्छ ।

५. ब्याकराउन्डमा रन हुने एप अफ गर्नुहोस्

एक पटकमा एकभन्दा बढी एप्लिकेसन चलाउन सक्ने क्षमता नै मल्टिटास्किङ हो । स्मार्टफोनको यो महत्वपूर्ण फिचरले पनि ब्याट्री लाइफ उत्तिकै ध्वस्त पार्छ । एप चलरिहँदा यसको लोड प्रोसेरमा पर्छ । ब्याकराउन्डमा चलेका एप बन्द गर्नाले प्रोसेरको लोड घट्नुका साथै मोबाइलको ब्याट्री खपतलाई घटाउन सकिन्छ । मल्टिटास्किङका लागि प्रख्यात एन्ड्रोइड फोनमा एडभान्स टास्क किलर एप इनस्टल गरेर ब्याकराउन्डका एपलाई बन्द गर्न सकिन्छ । समय समयमा सबै एप बन्द गरेर फोनलाई रिबुट अझ राम्रो हो ।

६. तातो स्थानमा नराख्नुहोस्

स्मार्टफोनलाई तातो स्थानमा नराख्नुहोस् । गर्मी मौसममा कारको अघिल्तिर राख्दा स्मार्टफोनको ब्याट्री छिटै नस्ट भएर जान्छ । स्मार्टफोनले अधिकतम कति तापक्रमसम्म काम गर्ने भन्ने निश्चित रेञ्ज हुन्छ । त्यो भन्दा बढी तापक्रममा राखे स्मार्टफोनको ब्याट्री स्वतः नस्ट हुनपुग्छ ।

७. भाइब्रेटसन प्रयोग नगर्नुहोस्

तपाइँ फोनलाई रिङटोनभन्दा भाइब्रेसनमा राख्न रुचाउनुहुन्छ ? रिङटोन भन्दा भाइब्रेसन मोडमा ब्याट्री बढी खपत हुन्छ । रिङटोन बज्दा आवाज निकाल्नको लागि मोबाइल फोनको सानो ‘मेम्ब्रेन’लाई भाइब्रेट गरे मात्र पुग्छ । यसको विपरित भाइब्रेसन मोटरले पूरै फोन हल्लाउन सानो वजन नै घुमाउनु पर्नेहुन्छ । यो प्रक्रियाको लागि धेरै उर्जा खपत हुन्छ । आवाजले डिस्टर्भ नहोस् भन्ने चाहनुहुन्छ भने सबै नोटिफिकेशन अफ गरेर फोनलाई देखिने ठाउँमा राख्नुहोस् ता कि भाइब्रेसन बिना नै नयाँ कल आएको थाहा होस् ।

८. अनावश्यक नोटिफिकेशन अफ गर्नुहोस्

प्रायः सबै एपले अपडेटका लागि इन्टरनेट खोजिरहेका हुन्छन् । एपहरुले केही भेटाउन साथ त्यसले आवाज निकाल्छ, स्क्रिन उज्यालो पार्छ वा म्यासेज देखाउँछ । अथवा यी सबै कुरा गर्छ । स्मार्टफोनको यो स्वचालित गतिविधिले ब्याट्री खपत गरिरहेको हुन्छ । ब्याट्री लाइफ जोगाउन अनावश्यक नोटिफिकेसन अफ गर्नु उत्तम उपाय हो ।

९. पावर सेभिङ मोड

स्मार्टफोन कम्पनीहरुले विभिन्न मोडलअनुसार फरक फरक पावर सेभिङ फिचर उपलब्ध गराएका छन् । यो मोड इनेबल गर्नाले पावर बचत गर्ने फिचर प्रयोग गर्न सकिन्छ । यसले एपहरुलाई ब्याकराउन्डमा अपडेट हुनबाट रोक्छ । स्क्रिनलाई मधुरो बनाउँछ, स्क्रिनको टाइम आउट सेटिङ घटाउँछ र भाइब्रेसन अफ गर्छ । हुन तस्मार्टफोनको ब्याट्री २० प्रतिशत बाँकी रहेपछि यो मोड अटो अन हुन्छ ।

१०. अरु केही उपाय

फ्लास प्रयोग नगरी फोटो खिच्नु ब्याट्री लाइफ जोगाउने अर्को उपाय हो । मल्टिपल सट लिने हो भने त सानो फ्लासले नै ब्याट्री लाइफ ध्वस्त पारिदिन्छ । तत्कालै जवाफ फर्काउनु छैन भने इमेल नोटफिकेशनको समय २०—३० मिनेटमा सेट गर्नुहोस् । यसले छिटो छिटो आउने नोटिफिकेशनबाट ब्याट्रीलाई जोगाउँछ । तपाइँ आइफोन ४ एस वा ५ चलाउनुहुन्छ भने सिरीभित्रको सेटिङमा गएर रेज टु स्पिकलाई डिजेबल गर्दिनुहोस् । त्यसले पनि तपाइँको ब्याट्री लाइफ जोगाउँछ । फोन नेटवर्क देखाएन भन्दैमा निरन्तर सिग्नल नखोज्नुहोस् । त्यसले ब्याट्री लाइफ ध्वस्त पारिरहेको हुन्छ । ब्याट्री पूर्णरुपमा डिस्चार्ज नभएसम्म चार्ज नगर्नुहोस् ।

No comments:

Post a Comment